मुना चाैधरीकाे दुलारी सार्वजनिक

मुना चौधरीको उपन्यास दुलारी आज एक समारोहकाबीच लेखक नयनराज पाण्डे र शान्ति, द्वन्द्ध र विकासकी अध्येता प्रियंका कापरले सार्वजनीक गरेका छन् । चौधरीको यो दोस्रो उपन्यास हो । यसअघि उनको पौराणिक–ऐतिहासिक तथा मिथिला क्षेत्रका साँस्कृतिक, सामाजिक र राजनीतिक अवश्थाको झलक दिने जयवर्धन सलहेश उपन्यास प्रकाशित छ ।
उपन्यासमाथि बोल्दै लेखक पाण्डे मधेश आफ्नो पनि लेखनको बिषय भएता पनि चौधरीजति मिहिन ढंगले आफूले समेत लेख्न नसकेको बताए । लु र उलार कृतिका लेखक पाण्डेले मधेशी दलित महिलालाई केन्द्रमा राखेर लेखिएको दुलारी बाहेकको कृति अहिलेसम्म नपढेको बताए । राष्ट्रिय गानले सयौं थुँगा फुलका माला नेपाली भनेर अनेकताभित्र एकताको महिमा मण्डन गरे पनि सिमान्तकृत समुदायका संघर्ष, कथा, व्यथालाई मुना चौधरीजस्ता लेखकले उजागर गर्ने गरेको बताए ।
अर्की वक्ता कापरले दुलारी उपन्यासले मुसहर समुदायका बारेमा पाठकलाई थप खोज्न बाध्य बनाउने उल्लेख गरिन् । छुवाछुत जस्ता सामाजिक कुरुती र अपराधलाई ठाडै गर्नहुन्न नभनी उपन्यासकी मुलपात्र दुलारीले गरेका प्रश्नले पाठकलाई झक्झकाउने विश्वास व्यक्त गरिन् । मानव सुचांकमा पुछारतिर रहेको मुसहर समुदायलाई यो उपन्यासले बहसको केन्द्रमा तान्ने उनले बताइन् ।
लेखक चौधरीले आफ्नो लेखन यात्राको बारेमा चर्चा गर्दै मुसहर समुदायको दुख आफूले सानैदेखि देखेका हुनाले उनीहरुका कथा लेख्न सहज भएको सुनाइन् । आफै लेख्न नसकेका समुदायको कथा लेख्नु लेखकको जिम्मेबारी भएको उनको कथन थियो ।
२९० पृष्ठकाे उपन्यासकाे मूल्य रु३९५ रहेकाे छ ।